Blogger templates

05 February 2012

ब्लाटर नेपाल आउने


अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष सेप ब्लाटर फागुन अन्तिम साता नेपाल आउने भएका छन् । एएफसी च्यालेन्ज कपको उद्घाटन गर्न उनी नेपालले आउने शुक्रबार निश्चित भएको हो ।

एसियाली फुटबलको दोस्रो महत्त्वपूर्ण प्रतियोगिता मानिएको च्यालेन्ज कपको उद्घाटन समारोहमा सहभागी हुन ब्लाटर आउने अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि पुष्टि गरेको छ । नेपाली फुटबल इतिहासकै सर्वाधिक ठूलो आयोजना मानिएको प्रतियोगितामा छनोट पार गरेका आठ देशले प्रतिस्पर्धा गर्नेछन् । त्यसको उद्घाटन फागुन २५ मा दशरथ रंगशालामा हुनेछ ।

'उद्घाटनकै दिन ब्लाटर काठमाडौं ओर्लनेछन्,' एन्फा अध्यक्ष गणेश थापाले भने, 'उनी निकै व्यस्त व्यक्ति हुन् । त्यसैले उनी फागुन २६ गते नै र्फकनेछन् ।' थापा एसियाली फुटबल महासंघ (एएफसी) का उपाध्यक्ष पनि हुन् । उनले क्वालालम्पुरमा ७ मंसिरमा भएको एएफसीको बैठकमा सहभागी ब्लाटरलाई नेपाल आगमनको निम्तो दिएका थिए ।

गोल प्रोजेक्टअन्तर्गत च्यासलमा निर्मित टेक्निकल सेन्टरको उद्घाटन गर्न चार वर्षअघि नेपाल आउने योजना अन्तिम समयमा अस्वस्थ भएपछि ब्लाटरले स्थगित गरेका थिए । 'उनी नेपालको राजनीतिक परिवर्तन र सगरमाथाका बारेमा निकै जानकारी लिन्थे । नेपाल आउन खुबै इच्छुक थिए,' एन्फा अध्यक्ष थापाले भने, 'कार्यक्रम मिलाएर भ्रमणको निम्तो दिन चाहन्थ्यौं । यस्तोमा च्यालेन्ज कप अवसरका रूपमा मिल्यो ।'

जहाँ गए पनि ब्लाटर निजी 'जेट' विमानमा यात्रा गर्छन् । त्यसैले उनी निजी जेटमै नेपाल आउने अपेक्षा गरिएको छ । चौध वर्षयता फिफाको नेतृत्व गरिरहेका स्वीस नागरिक ब्लाटरको

नेपाल भ्रमण पहिलो हुनेछ । उनीसँगै अन्तर्राष्ट्रिय फुटबलका नेतृत्वकर्ताहरू नेपाल आउने उल्लेख गर्दै थापाले भने, 'एएफसीका धेरैले आउने वचन दिएका छन् । अन्य को-को आउने भन्ने निश्चित भइसकेको छैन ।'

विश्वकै सर्वाधिक लोकपि्रय खेल हो, फुटबल । यसको सर्वोच्च संस्था फिफा हो । दुई सय ८ देश सदस्य रहेको फिफा फुटसल र बिच सकरको पनि सर्वोच्च संस्था हो । विश्व खेलकुदकै शक्तिशाली मानिने फिफाका अध्यक्ष नेपाल आउन लागेको दोस्रो अवसर हो । यसअघि ब्राजिली जाओ हाभेलान्जले सन् १९८२ मा नेपाल भ्रमण गरेका थिए ।

'फिफा कार्यसमिति निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न देशको भ्रमण गर्ने क्रममा हाभेलान्ज दुई दिनका लागि नेपाल आएका थिए,' तत्कालीन एन्फाका अध्यक्ष कमल थापाले भने, 'त्यसबेला नेपालमा फुटबल विकासको कार्यक्रम भर्खरै सुरु भएको थियो । एन्फा र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पदाधिकारीसँग भेटघाट गरेका थिए ।'

सन् १९७४ देखि १९९८ सम्म फिफाको नेतृत्व गरेका हाभेलान्जले माउन्टेन फ्लाइटमा नेपालको हिमाली दृष्य अवलोकन गरेका थिए । फुटबललाई व्यावसायिक रूप दिन उनको योगदान महत्त्वपूर्ण मानिन्छ । उनीपछि ब्लाटरले फिफाको नेतृत्व सम्हालेका हुन् ।

एक सय ७ वर्षको इतिहास भएको फिफाका आठौं अध्यक्ष हुन्, ब्लाटर । उनको आगमन नेपालमा भइरहेको फुटबल गतिविधि देखाउने अवसर भएको उल्लेख गर्दै एन्फा अध्यक्ष थापाले भने, 'उनको भ्रमण सफल बनाउनु एन्फाको दायित्व हो । यसका लागि सबैको सहयोग अपेक्षा गरेका छौं ।'

सहयोगको आस नेपाल भ्रमणका क्रममा ब्लाटरसँग एन्फाले सहयोगको आस गरेको छ । 'उनीसामु केही योजना प्रस्तुत गर्नेछौं,' एन्फा अध्यक्ष गणेश थापाले भने, 'कुनै न कुनै रूपमा उनले सकारात्मक सहयोग गर्ने आस छ ।'

एन्फाले ब्लाटरसँग फुटबल विकासका लागि आर्थिक तथा प्राविधिक सहयोग अपेक्षा गरेको

छ । थापाले भने, '११ जना खेल्न सक्ने स्थान नभएको हिमाली-पहाडी क्षेत्रमा मैदान, अभ्यास मैदान र होस्टेल बनाउन, युवा विकास र सडक बालबालिकाका लागि फुटबलका परियोजना, आर्टिफिसियल पिचका लागि सहयोगको अनुरोध गर्नेछौं ।'

ब्लाटर नेपाल आउनु नै महत्त्वपूर्ण हुने उल्लेख गर्दै थापाले भने, 'हाम्रो समस्या थुप्रै छन् । आन्तरिक छलफल गरेर योजना बनाई एकपछि अर्को समस्या हल गर्नेतर्फ लाग्नेछौं । त्यसैले ब्लाटरबाट केही न केही सहयोग हुन्छ भन्नेमा विश्वस्त छौं । यसबारे सरकारसँग पनि कुरा राख्नेछौं ।'

थापाले थपे, 'सम्मान दिनुपर्छ । त्यसले उनको हेर्ने दृष्टिकोणमा फरक पार्छ । त्यसैले फिफाको सहयोग थप गर्न सघाउनेछ ।' फिफाले आफ्ना सदस्यलाई वाषिर्क २ लाख ५० हजार अमेरिकी डलर दिंदै आएको छ । त्यसबाहेक नेपालमा हाल गोल फुटबल र दोस्रो चरणको गोल प्रोजेक्ट सञ्चालन भइरहेको छ । दुवै प्रोजेक्ट ४-४ लाख डलरका हुन् ।

सम्भव भएसम्म च्यासलस्थित एन्फा टेक्निकल सेन्टर, माउन्टेन फ्लाइटमार्फत सगरमाथा, सातदोबाटोस्थित एन्फा कम्प्लेक्स, होस्टेलको अवलोकन गराउने थापाले बताए । उनले भने, 'एन्फा, एएफसी र साथीको समन्वयमा महिला र सडक बालबालिकाको मैत्रीपूर्ण खेल पनि देखाउने

योजना छ ।'

को हुन् ब्लाटर ?

एएफसीका निलम्बित अध्यक्ष मोहम्मद बिन हमाम विवादास्पद रूपमा भ्रष्टाचारमा फँसेपछि गत वर्ष चौथो कार्यकालका लागि फिफा अध्यक्षमा सेप ब्लाटर निर्विरोध निर्वाचित भएका थिए । फिफामा हुने भ्रष्टाचारले पछिल्लो निर्वाचन चर्चामा आएपछि उनको लोकपि्रयता ह्वात्तै खस्किएको थियो । यो कार्यकाल अन्तिम भएको ७५ वषर्ीय उनले घोषणा गरिसकेका छन् ।

ब्राजिली जाओ हाभेलान्जले छाडेपछि सन् १९९८ मा उनी पहिलोपल्ट फिफा अध्यक्ष चुनिएका थिए । त्यसयता उनी फिफाको नेतृत्वमा निरन्तर छन् । त्यसअघि उनी प्राविधिक निर्देशकका रूपमा सन् १९७५-८१ र महासचिवको भूमिकामा १९८१-९८ सम्म फिफामा कार्यरत थिए । उनी १९९९ यता अन्तर्राष्ट्रिय ओलम्पिक परिषद्को सदस्यमा निरन्तर छन् ।

स्वीस एसोसिएसन अफ स्पोर्ट्स राइटर्समा ५६ वर्षयता सदस्य छन् । खेल पत्रकारका रूपमा उनले करिअर सुरु गरेका थिए । उनले शुक्रबार ट्वीट गरेका छन्, 'एआईपीएस -खेल पत्रकारको सर्वोच्च संस्था) सदस्यको नयाँ कार्ड भर्खरै प्राप्त गरें । खेल पत्रकारका रूपमा मैले करिअर सुरु गरेको थिएँ । विश्व खेल जगत्मा अझै सम्मानित सदस्य भएकामा गौरवान्वित छु ।'