सिमरा (बारा), फाल्गुन ८ - रानीपोखरी कर्नर टिम (आरसीटी) आइतबार म्याजिक मोमेन्ट्स तेस्रो सिमरा गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । उसले क्वाटरफाइनलमा वीरगन्ज युथ एकेडेमीलाई ३-२ ले पराजित गर्यो ।
आरसीटीका एन्टोलो नगोमुले अतिरिक्त समयको २७ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै टिमलाई अघिल्लो चरणमा पुर्याए । निर्धारित समयमा दुवै टिम २-२ को बराबरीमा रहेपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।
अत्यन्त प्रतिस्पर्धात्मक खेलमा नीरज मगरले ९ मिनेटमा जिरो लाइनबाट पहिलो गोल गरी आरसीटीलाई १-० को अग्रता दिलाएका थिए । तर, लखन चौधरीले खेलको ४५ औं मिनेटमा पि|mकिकमार्फत गोल गर्दै वीरगन्जलाई बराबरीमा पुर्याए । आरसीटीले वीरगन्जका कृष्ण शाक्यलाई लडाएपछि पाएको मौका सदुपयोग गर्दै ३६ वर्षीय लखनले बललाई जाली चुमाएका थिए ।
पहिलो हाफ १-१ को बराबरीमा रहे पनि खेलको ५५ औं मिनेटमा ओलडिपो अफिजले गोल गर्दै आरसीटीलाई पुनः अग्रता दिलाएका थिए । दोस्रो हाफको इज्जुरी टाइमको पहिलो मिनेटमा वीरगन्जले पेनाल्टीको अवसर पायो । उक्त अवसरमा कृष्ण शाक्यले गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए । खेलमा वीरगन्जका रामकिशोर चौधरी र आरसीटीका एलेक्स लिकेन्जले रातो कार्ड पाए । वीरगन्जका प्रशिक्षक रीतु शाक्यले आफ्नो खेलाडीले राम्रो खेलेको बताए । आरसीटीका प्रशिक्षक बैजुनाथ कपालीले तालमेल नमिले पनि राम्रै खेलेको स्वीकारे । वीरगन्जका कप्तान कृष्ण शाक्य 'म्यान अफ द म्याच' घोषित भए ।