काठमाडौ, फाल्गुन ६ - नेपालले एएफसी यू-२२ एसियन कप फुटबलको छनोट आयोजना गर्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले छनोट समूह 'डी' का १० खेल जून २३ देखि जुलाई १ सम्म सञ्चालन गर्नेछ ।
त्यसमा आयोजक नेपालसहित उज्वेकिस्तान, जोर्डन, यमन र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् ।
एसियाली फुटबल महासंघ (एएफसी) ले पहिलोपल्ट आयोजना गरेको प्रतियोगितामा यो समूहलाई निकै कठिन मानिएको छ ।
समूहको सबैभन्दा बलियो टोली हो, उज्वेकिस्तान । जोर्डन पनि एसियाली फुटबलको उच्चस्तरीय टिम मानिन्छ । यमन र बंगलादेश वरीयतामा नेपालभन्दा माथि छन् ।
त्यसैले नेपालकेा शीर्ष दुईमा रहँदै छनोट पार गर्ने बाटो सहज छैन । यस्तोमा नेपाललाई घरेलु मैदान र समर्थकले उत्साहित पार्नेछन् ।
नेपालले पछिल्ला समय अन्तर्राष्ट्रिय प्रतियोगिता
निरन्तर आयोजना गर्दै आएको छ । एक वर्षयता फिफा वल्र्डकप-२०१६ को छनोट, साफ यू-१६ च्याम्पियनसिप, एएफसी यू-१६ छनोट आयोजना गरेको थियो ।
नेपाली फुटबल
इतिहासकै सर्वाधिक ठूलो आयोजनाका रूपमा फागुन २५ देखि चैत ६ गतेसम्म एएफसी च्यालेन्ज कप हुँदैछ ।
त्यसको दुई महिनापछि नै एएफसी यू-२२ छनोट नेपालमै हुने भएको हो ।