सिमरा, फाल्गुन ९ - राजधानीको यती हिमालयन शेर्पा सिमरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । उसले सोमबार मजदुर सहिद स्मृति क्लब (डब्लूएमएमसी) लाई २-१ ले हरायो ।
पहिलो हाफको १० औं मिनेटमा मजदुरका खेलाडीले कोरियाली खेलाडीलाई फल गरेपछि हिमालयनका कुञ्जन गुरुङले फ्रिकिकमार्फत पहिलो गोल गरे । दोस्रो हाफको आठौं मिनेटमा कोरियाली खेलाडीको पासमा कुञ्जनले हेडमार्फत अर्को गोल थपे ।
दोस्रो हाफको २८ औं मिनेटमा मजदुरका लागि जीवन सिंकेमानले एक गोल गरे । अग्रपंक्ति कमजोर भएकै कारण मजदुरले थप गोल गर्न सकेन ।मजदुरको रक्षापंक्तिको तालमेल नमिलेपछि शेर्पाका कुञ्जनले मौकाको फाइदा उठाउँदै दोस्रो गोल गरेका थिए ।
मजदुरका टिम व्यवस्थापक राजन खडकाले आफ्नो टिमले सोचेअनुसार प्रदर्शन गर्न नसकेको र खेलाडीबीच तालमेल नमिल्दा पराजय भोग्नुपरेको बताए ।
हिमालयनका प्रशिक्षक नवल गुरुङले टिमले अझ बढी मिहिनेत गर्नुपर्ने बताए । उनले अब उपाधिका निम्ति तयारीमा लाग्ने बताए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेबापत हिमालयन शेर्पाका कुञ्जन 'म्यान अफ द म्याच' घोषित भए ।
हिमालयन २-१ डब्लूएमएमसी